सुदूरपश्चिम

सुदूरपश्चिममा ‘सात्विक’ दशैं

१० कात्तिक, बैतडी । बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दशैंँ मनाईएको छ । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैंँ मनाइँदै आएको हो ।
मानसरोवर क्षेत्रसँग जोडिएको मानसखण्ड शिवको तपोभूमिमा मनाइने चाडपर्वहरु सात्विक हिसाबले मनाउने चलन छ । घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसी विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताए ।
उनले भने, “परापूर्वकालदेखि नै यस क्षेत्रमा दशैंँको बेला चोखो भोको रहने चलन छ । घटस्थापनादेखि नवरात्र उपासन गर्ने चलन पनि छ । यस समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै खाने गर्छन् ।”
दशैंका समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहे पनि यस क्षेत्रमा सात्विक हिसाबले मात्र दशैंँ मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने “दशैंँमा शक्तिको पूजा हुन्छ । शक्ति प्राप्तिका लागि साधना आवश्यक छ । त्यसैले यो क्षेत्रमा दशैंँका बेला चोखो भोको रहेर नवरात्र उपासन गर्ने चलन छ ।”
पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन शुरु गरेका श्रद्धालुले नवरात्रसम्म एकछाक मात्रै खाएर उपासना गर्ने गरेका छन् । आज विजयादशमीको टीका ग्रहण गरेपछि मात्रै खाना खाने चलन रहेको पण्डित देवदत्त भट्टले बताए ।
यस्तै यहाँ सामूहिक रुपमा टीका जमरा ग्रहण गर्ने चलन रहे पनि यस वर्ष कोरोना भाइरसले समस्या भएको उनको भनाइ छ ।
जात्रा
बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा सम्पन्न भएका छन् । दशरथचन्द नगरपालिका १ स्थित महारुद्र मन्दिरमा आज बिहान पूजाआजा सम्पन्न भएको स्थानीयवासी वीरबहादुर टेरले जानकारी दिए । महारुद्र मन्दिरमा बिसुपर्व, बौद्धपूर्णिमा, माघे संक्रान्ति र वसन्त पञ्चमीका दिनमा समेत पूजाआजा हुने गरेको छ । यस्तै छडिलिङ्गमा पनि आजै बलिसहित जात्रा सम्पन्न भएको छ ।
निवृत्तिभरण बुझ्न नपाउँदा खल्लो
निवृत्तिभरण बुझ्न नपाउँदा भारतीय निवृत्तिभरणधारीको दशैंँ खल्लो भएको छ । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा पेन्सन बुझ्न नपाउँदा उनीहरुले राम्रोसँग दशैँ मनाउन पाएनन् ।
भारतीय सेनाबाट सेवा निवृत्त तथा अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त नेपालीले निवृत्तिभरण रकम भारतीय बैंकमार्फत बुझ्ने गरेका छन् । पेन्सनकै भरमा रहेका आफूहरुको दशैंँ खल्लो भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जितसिंह थापाले जानकारी दिए । उले भने, “ए महिना अगाडीदेखि नै जिल्ला प्रशासन कार्यालयलाई नाका खोल्न पहल गर्नका लागि अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ भएन, घरधन्दा चलाउन पनि समस्या भएको छ ।”
जिल्लामा एक हजार दुई सय भारतीय निवृत्तिभरणधारी भए पनि ४३८ जनाले मात्रै पेन्सन बुझ्न पाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले भने नाका खोल्नका लागि प्रयासरत रहेको जनाएको छ । दुई देशबीच सहमतिको प्रयास भइरहेकाले दशैंलगत्तै नाका खोलिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।