गण्डकी प्रदेश

मस्जिद पुनर्निर्माण सम्पन्न

१० कात्तिक,दमौली। तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदको पुनर्निर्माण सम्पन्न भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र मुस्लिम समुदायका व्यक्तिहरुको आर्थिक सहयोग गरी कूल ३० लाखको लागतमा सो मस्जिदको पुनर्निर्माण सम्पन्न भएको हो । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् मस्जिद पुनर्निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेका थिए। त्यस्तै सांसद कलिला खानको पहलमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट ७ लाख बजेट प्राप्त भएको थियो । दमौली निवासी एवं हाल विदेशमा रहेका मुस्लिम समुदायले पनि पुनर्निर्माणका लागि करीब रु १२ लाख सहयोग गरेका थिए । सबैको सहयोगले मस्जिदको पुनर्निर्माण सम्पन्न भएको मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए । उहाँका अनुसार लकडाउनकै बेला मस्जिद पुनर्निर्माणको काम शुरु गरिएको थियो । लकडाउनका कारण काम गर्न समस्या भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १५ लाखमध्ये रु ११ लाख ७० हजारको मात्रै काम सम्पन्न भएको छ ।
घर भत्किएकालाई रु तीन लाख सहयोग
गत असार र त्यसपछि परेको अविरल वर्षाले घर भत्किएका पीडित परिवारलाई तनहुँको घिरिङ गाउँपालिकाको राहत रकम प्रदान गरेको छ । गाउँपालिकाले पीडित परिवारको घरमै पुगृर राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले छ परिवारलाई राहत स्वरुप रु तीन लाख हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका–३ पोखरीडाँडाका एक, वडा नं ४ छाब्दीका एक र वडा नं ५ लङ्कापतीथर र किटियाका चार परिवारलाई गाउँपालिकाले राहत स्वरुप रु ५०÷५० हजारका दरले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । विपद्बाट परेको पीडामा मलम लगाउने उद्देश्यले गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराएको रानाले बताए ।
गाउँपालिकाले लोक गायक र गायिका घिरिङ गाउँपालिका–५ च्याचल निवासी कृष्णप्रसाद गौतम र वनडाँडा निवासी योमाया रानालाई प्रोत्साहन स्वरुप रु दश÷दश हजार सहयोग गरेको छ । वर्षाले घर भत्किएका आठ घरपरिवारलाई राहत दिने निर्णय भएकामा बाँकी घरलाई पनि छिट्टै रकम उपलब्ध गराइने गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।