पु.समाचार

९० वर्षीया धनकुमारीले भनिन्ः भत्ता आएपछि दशैं आएको जस्तो लागेकोछ

९ कात्तिक, काठमाडौं । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले हर्षले खुलेका ओठ । सुकेको जिब्रोबाट जबर्जस्त औँलामा थुक लगाउँदै पैसा गन्न व्यस्त अवस्थामा खिजीकातीका विमला तामाङ दशैंको मुखमा भत्ता पाउँदा दङ्ग थिए । उनले सामाजिक सुरक्षा भत्ता बुुझ्न थालेको पनि २६ वर्ष भइसकेछ ।
तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ताका लागि नीति ल्याएकै वर्ष उनले एकल महिलाले पाउने सय रुपैंया भत्ता पाएका थिए । उमेरले ७० वर्ष पार गरेपछि एकल महिला भत्ताबाट वृद्धा भत्ता पाउनेमा उनको नाम सूचीकृत भयो र त्यसयता उनले निरन्तर भत्ता लिइरहेका छन् ।
“यो गाउँमा सबैभन्दा पहिला भत्ता खाने मान्छे हुुँ । त्यो बेला महिनाको सय रुपैंया दिन्थे, अहिले नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको पालामा बढेर तीन हजार पुुग्यो ।” तामाङले भने, “अरु आउने बाटो हुँदैन ऋणपान गरेर खर्च चलाएपनि वृद्धभत्ता आएपछि तिर्न पुुग्छ । दशैंका बेलामा आएको चाँहि दशैंमै ठिक्क हुन्छ ।”
वर्षमा ४ पटक चौमासिक हिसाबले सामाजिक सुरक्षा भत्ता वितरण हुुन्छ । वृद्धाभत्ता वापत् ज्येष्ठ नागरिकले अहिले मासिक ती हजारका दरले एक चौमासिकमा १२ हजार पाउँछन् । अरुबेला आउने भत्ता बापतको रकम सामान्य खर्चमा सक्किने भएपनि आर्थिक वर्षको पहिलो चौमासिकमा पाउने भत्ता ज्येष्ठ नागरिकको दशैंको सहारा बन्दोरहेछ ।
सरकारले दिने भत्ता बाहेक अन्य आयस्रोत नभएका ज्येष्ठ नागरिकलाई भत्ता पाएपछि बल्ल दशैं आएजस्तो हुन्छ । दुवै आँखा नदेख्ने खिजीदेम्बा ४ का पवित्रा भुजेलले पहिलो पटक यसवर्ष १२ हजार भत्ता पाए । त्यो रकमले दशैं उज्यालो हुुने उनको अपेक्षा छ । विगतमा उनका श्रीमान् दलबहादुर भुजेलले पाउने भत्ताले जेनतेन खर्च चल्थ्यो । अब दुुवैजनाले पाएको २४ हजार पैसाले यसवर्षको दशैं टार्ने भुुजेल दम्पतीको योजना छ । “छोरा–छोरीले कमाए आफैँ रमाए, अलि अलि त बेलाबेलामा दिन्छन् बुढाबुढीको व्यथा कसलाई के थाहा !” दलबहादुर भन्छन्, “जसो तसो खान पुुगेकै छ । भत्ताले गर्दा अरू ऋण खोज्न परेको छैन, दशैं पनि टर्छ ।” सामाजिक सुरक्षा भत्ताले कैयौँ वृद्धवृद्धाको जीविकोपार्जन र सामान्य औषधोपचारमा सहजता प्रदान गरेको छ । कमाइ नहुनेले घर खर्च धानेका छन् । कमाइ हुनेले पनि आफ्नो आवश्यकता पूरा गर्न सामाजिक सुरक्षा भत्ता खर्च गर्छन् । अहिले लकडाउन थपिँदै गएकाले कति विपन्न परिवार समस्यामा परेका छन् । न खाने अन्न न त खर्च गर्ने पैसा । यो अवस्थामा सामाजिक सुरक्षा भत्ताले लक्षित वर्गलाई निकै गुन लगाएको छ ।
कातीगाउँका तिलमायाँ र कमलमायाँ मगराती जस्तै उमेरले ८६ कटेका वा बहादुर र पविमायाँ सुनुवार दम्पतिको पनि वृद्धभत्ता बाहेक आम्दानीको अर्को स्रोत छैन । अन्य आयस्रोत सामान्य भएपनि सोही गाउँका पूर्णबहादुर सुुनुुवार, वीरबहादुर तामाङ, सर्किनी शेर्पा र विर्खबहादुर खत्रीलगायतलाई खर्च धान्न भत्ताकै भर छ । “भाइरस आयो सबै कुरामा समस्या भयो भन्थे । यो पालि भत्ता दिँदैनन् क्यारे दशैं कसरी मनाउने भन्ने पिरलो थियो तर वडाध्यक्षले घरैमा ल्याएर दिनुुभयो, अब ढुुक्क भयो ।”
जिल्लाको मोलुुङ गाउँपालिका ३ प्राप्चाका ९० वर्षीष् धनकुमारी सुुनुुवारलाई पनि भत्ता आएपछि दशैं आएको जस्तो लाग्छ । गाउँमा सबैले क्याप्टननी बजुु भनेर अग्रज मान्ने भएकाले नातीनातीनी र आफन्तलाई सामान्य सहयोग गर्न र आफूलाई औषधि किन्न भत्तामा पाएकै पैसाले पुुग्छ ।
खिजीदेम्बा ४ का वडाध्यक्ष कमल न्यौपाने भन्छन्, “वृद्धवृद्धा, एकल महिला र अपाङ्गता भएका व्यक्तिको बलियो सहारा भनेकै सामाजिक सुरक्षा भत्ता हो । कतिपय आमाबुुबालाई भत्ता आउने लोभले मात्रै पनि छोराछोरीले पाल्ने गरेको समेत भेटिन्छ ।” खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले राज्यप्रतिको अपेक्षा गरेर बस्नेहरुको भावना बुझेर आफूहरुले बेलैमा भत्ताको निकासा दिने गरेको बताउछन् । जिल्लामा सिद्धिचरण नगरपालिका र मोलुुङ गाउँपालिकाका केही वडामा बैंक मार्फत भत्ता वितरण हुन्छ । अन्य वडामा जनप्रतिनिधि र कर्मचारीले घरमै लगेर भत्ता वितरण गर्ने गरेका छन् ।
सरकारले ज्येष्ठ नागरिकका लागि मासिक तीन हजार, दलित ज्येष्ठ नागरिकका लागि रु दुई हजार, एकल तथा विधवाका लागि दुई हजार, पूर्ण अपाङ्गका लागि तीन हजार र अति अपाङ्गका लागि एक हजार छ सयका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।