सूचना प्रविधि

आजदेखी विदेशी च्यानल विज्ञापनमुक्तः अधिकांश च्यानल बन्द

८ कार्तिक, काठमाडौं । आज (शुक्रबार) मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ ।

अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका हुन् । यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ । नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् ।

प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ । टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ । उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन् ।