राजनीति

निशान छापमा प्रयुक्त नक्शामा सबै भाग देख्न सकिन्छः सल्लाहकार थापा

७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने बताएका छन् । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्शामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजिएको जनाएका छन् ।
उनले आज जारी गरेको प्रेस नोटमा लिम्पियाधुरासहितको नेपालको नक्शा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्शाको औपचारिक प्रयोगका लागि संसद्को सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ ।
“अहिले यस विषयमा योजनबद्ध रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु” ,नोटमा भनिएको छ ।