उर्जा

खोटाङमा सिँचाइ गर्न विद्युतीकरण गरिँदै

७ कात्तिक, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्ने पानी लिफ्ट गर्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्न आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सनलाइन विस्तारको तयारी गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट रातमाटे सुनकोशीसम्म, वडा नं ३ च्यास्मिटारको पीपलटारबाट सुनकोशीसम्म, वडा नं ४ बडहरेबाट घोपाटार दूधकोशीसम्म, वडा नं ६ मङ्गलटारबाट भदौरे दूधकोशीसम्म, वडा नं ९ सल्लेबाट हात्तीटार दूधकोशीसम्म, १० अर्खौलेको शिखरकटेरीबाट सुनकोशीसम्म, ११ राजापानीबाट भाटबेँसी सुनकोशीसम्म एचटी लाइनका लागि विद्युतीकरण गर्न लागिएको नगरप्रमुख इवन राईले बताए । “उज्यालो नगरपालिका अभियानअन्तर्गत हाल नगरपालिकाका सबै वडामा विद्युत् विस्तारको काम भइरहेको छ”, उनले भने, “शाखा लाइनबाट नदीको पानी तान्न सम्भव नहुने भएकाले खेतीयोग्य जमीन भएका कोशी करिडोरमा हाइटेन्सनलाइन विस्तार गर्ने र नदीको पानी गाउँमा तानेर सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यका साथ काम शुरु गरिएको हो ।”

जीविकोपार्जनको आधार तयार गर्ने लक्ष्यका साथ सिँचाइ सुविधा प्रयोजनका लागि विद्युतीकरणका काम गर्न नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा दुई करोड २४ लाख ६० हजार ५२२ (भ्याटसहित) बजेट स्वीकृत गरेको जनाइएको छ । प्राधिकरणले असोज २८ गते हाइटेन्सनलाइन (एचटी लाइन) विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि एक करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालातर्फ ३५ लाख १८ हजार २१६ बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

बजेट स्वीकृत भएसँगै कामका लागि टेन्डर प्रक्रियामा अघि बढिसकेको नगरपालिकाले जनाएको छ । कोशी करिडोरमा नदीको पानी तान्नका लागि विद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र दिक्तेलमार्फत असोज २२ गते प्रक्रिया अघि बढाएको थियो ।

सुक्खाग्रस्त क्षेत्रमा गर्ने उक्त नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मङ्गलटारको महादेवबेँसी र टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसी लगायतका कोशी करिडोरमा रहेको खेतीयोग्य जमीनमा नदीको पानी तानेर खेती गर्न सकिने सम्भावना छ । खानेपानीसमेत ट्र्याक्टरमा ढुवानी गरेर ल्याइएको दूधकोशी तथा सुनकोशी नदीको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको हलेसी क्षेत्रमा अन्नबाली लगाउन वर्षादको पानी पर्खनुपर्ने अवस्था छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजनाको कामसमेत तीव्र गतिमा भइरहेको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको हो ।

करीब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी निकालेर गाउँमा वितरण गर्ने तयारी गरिएको छ । नदीबाट पानी तान्नका लागि सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम धमाध भइरहेको छ ।

महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर पानी निकाल्ने काम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको छ ।