पर्यटन/संस्कृति

मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला

महोत्तरी, ७ कात्तिक । मिथिला क्षेत्रमा आज महासप्तमीका दिन नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा बेलको भेट्नोले खोस्रेर उघारेपछि बस्त्रआभूषणले सजाइनुका साथै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

महोत्तरीसहितका मिथिला क्षेत्रमा शारदीय नवरात्र (बडादशैँ) पर्वमा बनाइएका देवी प्रतिमाको प्राणप्रतिष्ठा शास्त्रोक्त विधिले महासप्तमी (फूलपाती) का दिन गर्ने परम्परा छ । षष्ठी (नवरात्रको छैटौँ दिन) ‘बेलनौत’ गरिएको बेलको भेट्नुले सप्तमीका दिन बिहानै आँखा उघारिएपछि प्रतिमाले पूर्णता पाउने विश्वास गरिन्छ ।

मुख्य पुजारीले प्रतिमास्थलमा नवरात्र प्रारम्भदेखि नै चण्डी पाठ र देवी पूजनका नित्यकृया गरे पनि आँखा उघारिएर प्राणप्रतिष्ठा नगरुञ्जेल देवी प्रतिमामा अवतरित नहुने मान्यता छ । मिथिलाको स्थापित यसै मान्यताअनुसार देवी प्रतिमाका आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

यसअघि षष्ठीका दिन प्रतिमास्थलबाट पुजारीसहित मुख्य यजमानले बस्तीकै बेलको रुख पुगेर रातो मखमली कपडाले बेललाई बेरेर ‘बेलनौत’ विधि सम्पन्न गरेका थिए । महासप्तमीका दिन त्यही बेल टिपेर ल्याई भेट्नुले प्रतिमाको आँखा उघारेर शास्त्रोक्त विधिले प्राणप्रतिष्ठा गरिएको हो ।

देवी प्रतिमा सर्वसाधारणलाई दर्शनका लागि खुला गरिएसँगै दर्शनार्थीको चाप प्रतिमास्थलमा बढेको छ । प्रतिमास्थलमा खटिएका स्वयंसेवक दर्शनार्थीलाई भौतिक दूरी निर्वाह गर्न र मास्क लगाएर प्रवेश गर्न उत्प्रेरित गरिरहेका छन् ।

यसपालि कोभिड–१९ सङ्क्रमण जोखिम कायम नै रहेका बेला बडादशैँ पर्व परेको हुँदा जिल्ला प्रशासनले भीडभाड नगर्न, मेलाउत्सव, नाचगान आयोजन नगर्न घटस्थापनाकै दिन निषेधाज्ञा आदेश जारी गरिसकेको छ । मिथिलामा बडादशैँ पर्वमा स्थापित गरिएका देवी प्रतिमा विजयादशमीका दिन पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ ।