कर्णाली प्रदेश

नेकपा विवादः आज कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै

७ कार्तिक, काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका सम्बन्धमा छलफल गर्न पार्टीको प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । विवाद समाधानका लागि भन्दै नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक आज (शुक्रबार)  बिहान ११ बजेका लागि बोलाइएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका सांसदले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद भएको हो । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधानका लागि शीर्ष नेतालाई केन्द्रमा बोलाए पनि विवाद समाधान हुन सकेको छैन ।

केन्द्रले विवाद समाधान गर्न नसकेपछि पुनः विवाद प्रदेशमै पुगेको छ । मुख्यमन्त्रीविरुद्ध नेकपा कर्णाली प्रदेशका सह-इन्चार्ज सांसद यामलाल कँडेलको नेतृत्वमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

असोज २५ गते मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा विवाद सतहमा आएको हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै मुुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेका थिए । उनको ठाउँमा सचेतक सांसद सिताकुमारी नेपालीलाई जिम्मेवारी दिइएको छ । ​

मुुख्यमन्त्रीले आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल पार्न हस्ताक्षर गर्नेमध्ये सात नेतालाई मन्त्रिपरिषद्मा समेट्ने सहमति गरेपछि उक्त पस्तावसमेत आसफल हुने देखिएको छ । यो सहमतिपछि केन्द्रले विवाद मिलाउने भन्दै काठमडौं आएका नेता प्रदेश फर्किइसकेका छन् । केन्द्रबाट ओली र प्रचण्डले प्रदेशको विवाद उतै मिलाउने भनेपछि पुनः विवाद समाधानको खोजी प्रदेशमै सुरु भएको हो ।

यता सांसद गुलाबजंग शाहले शुक्रबारको बैठकको वैधानिकता नभएको बताएका छन् । केन्द्रको निर्णय अटेर गरेर बैठक बोलाउनु गलत भएको उनको भनाइ छ । केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिने, मुख्यमन्त्रीले गरेका निर्णय बदर गरेर प्रमुख सचेतकमा पुर्नबहाली गर्ने सहमति गरेको उनको दाबी छ ।

केन्द्रको यो निर्णयप्रति प्रचण्डलेसमेत असन्तुष्टि जनाएका छन् । उता प्रमुख सचेतक सीता नेपालीले भने आजको छलफलले प्रदेशमा पार्टीभित्र देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेकी छन् ।