स्वास्थ्य

कोरोना संक्रमणका कारण भरतपुरमा एक ५७ वर्षे पुरुषको मृत्यु

७ कार्तिक, चितनवन । कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको बिहीबार बेलुकी भरतपुरको सरकारी अस्पताल पुगेलगत्तै मृत्यु भएको जनाइएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको का पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो । उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ४७ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै जिल्लामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या अत्यधिक छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार बिहीबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या ३ हजार ५ सय ७० पुगेको छ ।

निको हुन बाँकी अर्थात् सक्रिय संक्रमित १ हजार ४ सय ५८ छन् । तीमध्ये होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ हजार ९१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।