समाचार

ओली सरकार ‘नागरिकको जीवनप्रति जिम्मेवार बनोस्ः नेता जोशी

७ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताएका हुन् ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताएका छन् ।

“क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो”, नेता जोशीले भने ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गरेका छन् । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उनको भनाइ छ ।

उनले आम नागरिकको रगत र पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताएका छन् ।