खेलकुद

हैदराबादद्वारा आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स पराजित

७ कार्तिक, एजेन्सी । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

दुबईमा बिहीबार राति मनिस पाण्डे र विजय शंकर चम्किएपछि हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।

यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।

रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजि रहे ।हैदराबादका जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १र१ विकेट लिए । जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।

राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस्तै हैदराबादले राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो ।