खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा बैंगलोरको सातौं जित

६ कार्तिक, एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ ।

अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।

कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादबले १२ रन बनाए । त्यस्तै टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए ।

यससँगै बैंगलोरले कोलकत्तामाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो ।

कोलकत्तालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । कोलकत्ताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।