समाचार

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्नुपर्छः प्रधानसेनापति थापा

४ कात्तिक, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले कोभिड–१९ बाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए ।
महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड– १९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए । उनले भने, सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पु¥याएको छ ।
बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।