गण्डकी प्रदेश

तनहुँ जलविद्युत आयोजनाः विद्युतगृहको काम पुनः शुरु

४ कात्तिक, दमौली । सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युतगृहको काम अवरुद्ध भएको थियो ।

मजदुरको माग बमोजिम निर्माण कम्पनीले २ सय १७ जनाको पिसिआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए। “एक जना चालकमा कोरोना सङ्क्रमण देखिएपछि सबै मजदुरको पिसिआर गर्नुपर्ने माग सहित काम बन्द गरेका थियौ, सबैको पिसिआर परीक्षण पश्चात् रिपोर्ट नेगेटिभ आएपछि काम शुरु गरेका छौ,” उनले भने । सिनो हाइड्रो कम्पनीले परीक्षणको व्यवस्था गरेको थियो ।

एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ ।