पु.समाचार

आज काेराेना संक्रमणबाट आठ जनाकाे निधन, हालसम्म पुग्याे ७६५ जना

४ कात्तिक, काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ । तीमध्ये एक हजार १७४ महिला र एक हजार ९१९ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंँगै देशभरि कुल संक्रमित एक लाख ३९ हजार १२९ र सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेको जानकारी दिए । यस्तै देशभरका संस्थागत आइसोलेशनमा १३ हजार ५५९, होम आइसोलेशनमा २८ हजार १८६ र क्वारेन्टिनमा चार हजार २२० जना छन् । आजसम्म १३ लाख १४ जनाको ७७९ पिसिआर परीक्षण गरिएको छ ।

उपत्यकामा सत्र सय संक्रमित
काठमाडौँ उपत्यकामा एक हजार ७०२ जनामा संक्रमण देखिएको छ । काठमाडौंँमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनालाई संक्रमण देखिएको छ ।
डा गौतमका अनुसार आज दुई हजार १०८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । उनले अहिलेसम्म ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए । सोअनुसार प्रदेश नंं १ मा १६, प्रदेश नंं २ मा एक, वाग्मती प्रदेशमा ४९, गण्डकीमा चार, लुम्बिनीमा पाँच र सुदूररपश्चिम प्रदेशमा तीन जना छन् ।  देशभर २७३ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । सोअनुसार प्रदेश नं १ मा ३०, प्रदेश नंं २ मा १०, वागमतीमा १५०, गण्डकीमा २०, लुम्बिनीमा ४८, कर्णालीमा सात र सूदूरपश्चिम प्रदेशमा आठ जना छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही, दाङ, बाँके, कैलाली र सुर्खेत छन् । यस्तै संक्रमित शून्य रहेका जिल्लामा मुस्ताङ छ ।  यसैगरी आज आठ जनाको संक्रमणको कारणले निधन भएको डा गौतमले जानकारी दिए । अहिलेसम्म ७६५ जनाको संक्रमणको कारणले निधन भएको छ ।