पु.समाचार

चितवन र धरानमा गरी थप दुई कोरोना सङ्क्रमितको मृत्युः धरानमा २ सय ६ सङ्क्रमित थपिए

४ कार्तिक, काठमाडौं । चितवन र धरानमा गरी थप २ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सङ्क्रमितको मृत्यु भएको छ ।

इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।

यस्तै धरान उपमहानगरपालिकामा आज बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार एन्फा क्वारेन्टिन र बिपी प्रतिष्ठानमा स्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । यससँगै धरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार २१३ पुगेको बताइएको छ ।

यस्तै पुुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।