खेलकुद

राजस्थान रोयल्सलद्वारा आईपीएल टी–ट्वान्टी क्रिकेटमा चौंथो जित

४ कार्तिक, एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १र१ विकेट लिए । जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ । यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो । चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नईले १० खेलमा ६ अंक जोडेको छ । सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।