उर्जा

विद्युत्को महसुल बुझाउन अब पोखरा जानु पर्दैन

३ कात्तिक, दमौली । तनहुँका विभिन्न पालिकाका स्थानीयवासीले विद्युत्को महशुल बुझाउन पोखराको लेखनाथ जानुपथ्र्यो । यस क्षेत्रमा विद्युत् महशुल काउण्टर नहुँदा स्थानीयवासीले पोखरा पुगेर महशुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो । तर अब उक्त बाध्यताको अन्त्य भएको छ ।

तनहुँ र नवलपुर जिल्लाका ग्राहकको सहजताका लागि नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सवस्टेशनमा नोलाइट तथा महशुल काउण्टर सञ्चालनमा ल्याएको छ । बेलचौतारास्थित खैरेनीटार सवस्टेशनसँगै निर्माण गरिएको भवनबाट आइतबार सेवा शुभारम्भ गरिएको छ । पहिलो सेवाग्राहीका रुपमा जनकल्याण माध्यमिक विद्यालय बेलचौताराले विद्युत्को महशुल भुक्तानी गरेको छ ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले वितरण केन्द्रले दिने सबै सेवा ग्राहकलाई उपलब्ध गराउने बताए । उनका अनुसार हाल महशुल काउण्टर र नो लाइटको सेवा दिइएको छ । “नयाँ ग्राहक सेवा, मर्मतसम्भार, उजुरीको सेवा पनि थप हुनेछ”, उनले भने । गास, बास, कपाससँगै वर्तमान समयमा बिजुली पनि आधारभूत आवश्यकतामा पर्न थालेकाले ग्राहकसँगको सहकार्यमा सेवा विस्तार र थप गर्दै लैजाने तिवारीको भनाइ छ । पर्याप्त जग्गा भएकाले यस ठाउँमा प्रदेशस्तरको ट्रान्सफर्मर वर्कसप राख्ने योजना रहेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिका–५ का अध्यक्ष दीर्घबहादुर थापाले सेवा विस्तारका लागि सहयोग रहने प्रतिबद्धता जनाए । उनले सवस्टेशन सञ्चालनमा आएपछि पनि निरन्तर बत्ती जाने समस्या भएकाले सुधार गर्न सुझाव दिए। प्राधिकरणले यहाँबाट सेवा दिन थालेपछि तनहुँ र नवलपुरका उपभोक्ताले पोखराको लेखनाथसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको खैरेनीटारका बुद्धिबहादुर थापाले बताए । “नयाँ मिटर लिनलाई दिन बिताएरै लेखनाथ जानुपथ्र्यो, यतिबेला त झन कोरोनाको डरले त्यहाँसम्म पुग्न पनि मुस्किल थियो,” उनले भने, “अब सजिलो भयो ।”

तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाका करिब २५ हजार सेवाग्राहीले यहाँबाट सेवा पाउनेछन् । नयाँ मिटर जडान, उजुरीलगायत सेवाका लागि पनि अब पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

उक्त स्थानमा गत वर्षको पुसदेखि ३३ केभी प्रसारण लाइन क्षमताको सवस्टेशन सञ्चालनमा आएको छ । प्रसारण लाइनको क्षमता बढेपछि उद्योग कलकारखाना सञ्चालनमा सहयोग पुगे पनि पूर्ण क्षमता नचल्दा बेला न कुबेला झ्याप्पझ्याप्प लाइन जाने समस्याले भने उपभोक्ताले हैरानी खेप्नुपरेको छ ।

दशैँसँगै बत्ती बलेपछि खुशियाली

दशैँ शुरु भएसँगै तनहुँको घिरिङ गाउँपालिका–४ गलकोट र घिरिङ गाउँपालिका–५ भाटडाँडामा बिजुली बलेपछि स्थानीयवासीमा खुशी छाएको छ । लामो समयदेखि सोलार र टुकीको भरमा बस्दै आएका यहाँका स्थानीयवासी दशैँ शुरु भएसँगै बिजुली बलेपछि हर्षित भएका हुन् ।

घिरिङ गाउँपालिकाले ‘उज्यालो गाउँपालिका’ बनाउने लक्ष्यका साथ काम गरेपछि बिजुली नपुगेका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार भइरहेको छ । सोही अभियानअन्तर्गत गलकोट र भाटडाँडाका ४५ घरधुरीमा बत्ती बलेको छ । घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले दशैँ आएसँगै घरमा बत्ती बलेपछि खुशी लागेको बताउनुभयो । “दशैँको चहलपहल शुरु भएसँगै रौनक छाएका बेला बत्ती बलेपछि गाउँ नै उज्यालो भएको छ”, उनले भने, “वर्षौदेखिको चाहना बल्ल पूरा भयो ।”

स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आशमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताए। “बत्ती कहिले बल्ला भनेर लामो समय कु¥यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो”, उनले भने । स्थानीयवासी पूर्णबहादुर थापा, आनबहादुर थापा, हिरासिं थापाले पनि बत्ती बलेपछि खुशीको सीमा नै नरहेको बताए ।

घिरिङ विद्युतीकरण उपभोक्ता समितिमार्फत गत हप्ता नै घिरिङ गाउँपालिका–२ स्थित गजरकोटको ३५ घरमा बिजुली बलेको थियो । बिजुलीको सुविधा नपुगेका घरमा विद्युतीकरण अभियान तीव्ररुपमा चलिरहेको उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका करिब ६÷७ सय घरमा मात्रै अब बत्ती बल्न बाँकी रहेको र ती घरमा पनि कात्तिकसम्ममा बिजुली पु¥याइने थापाले बताए ।

उहाँका अनुसार नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौलीलगायतका ठाउँमा बिजुली विस्तार गर्न बाँकी छ । उपभोक्ता समितिले गाउँपालिकाको अत्रौली, पुट्टार, माहोरकोटलगायतका ठाउँमा एक महिनाको अवधिमा बिजुली विस्तार गरिसकेको छ । “कोरोना कहरकै बीचमा पनि विद्युतीकरणको अभियानलाई सञ्चालन ग¥र्यौं, वर्षौँदेखिको जनताको चाहना पूरा हुने क्रममा छ”, थापाले भने ।

घिरिङ गाउँपालिकाले यहाँका ग्रामीण बस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पु¥याउने प्रतिबद्धता लगभग सकिने क्रममा रहेको उनको भनाइ छ ।