पर्यटन/संस्कृति

बडादसैंको दोस्रो दिन आजः माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै

२ कार्तिक, काठमाडौं । नेपालीहरुको ठूलो चाड बडादसैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै छ ।

आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भएको नवरात्रको दोस्रो दिन ‘ब्रह्मचारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ भन्दै देवीको ब्रह्मचारिणी रुपको आराधना हुन्छ । भक्तलाई आफ्नो माध्यमबाट परब्रह्मस्वरुपामा लीन गराउनु वा प्राप्त गराउनु भगवतीको स्वभाव हो । त्यस्ती परमस्वरुपा देवीको पूजा गरिने विशेष दिन हो आज ।

नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट चिनिन्छ । द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेशसहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ ।

स्वरुप एकै भए पनि विभिन्न स्वरुपमा पूजा गर्नु हाम्रो विशिष्ट परम्परा हो । सनातन संस्कृतिमा दैवीशक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको मानिन्छ। ‘अहं ब्रह्मस्वरुपिणी’ यो सारा संसारको सृष्टिकारीका ब्रह्मस्वरुप म नै हुँ र जगत्मा भएका सारा प्रपञ्च मबाटै सञ्चालित छन् भन्ने विषय देव्यथर्वशीर्षमा देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ ।

सृष्टिमा पनि आद्य सृष्टिकी कारण भएकी जगदम्बा जगत्की पालनकर्ता र जीवनहर्ताका रुपमा पनि आफू नै रहेको विषय वर्णित भएका छन् । आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरुपका रुपमा पूजा गर्दै परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिई सम्मान गरिन्छ। जप, दुर्गासप्तशती पाठ र हवन गरी द्वितीया दिनको कर्म पूरा गरिन्छ ।

शक्तिको उपासना गर्दा कर्ताले रातो वस्त्र धारणा गरी भगवतीलाई रक्तचन्दन, रक्ताक्षत, रक्तपुष्प , बेलपत्र, रक्तवस्त्र चढाई अर्चना गर्नाले कामना पूर्ण हुने विश्वास छ । मिष्ठान्न, विभिन्न प्रकारका नैवेद्यका साथै ऋतुफल, उखु, बेलपत्र, नरिवल आदि देवीलाई मन पर्ने फलफूलमा पर्दछन् ।

नेपाल प्राचीन समयदेखि नै आर्ष परम्पराबाट स्थापित शक्ति भूमिका नामले परिचित छ । देवीहरूको शक्तिकेन्द्र भएकाले प्रत्येक नेपालीले सुख शान्ति र अभीष्ट फल प्राप्तिका लागि शक्ति स्वरुपा नवदुर्गा भवानीको पूजापाठ गर्दछन् ।