कर्णाली प्रदेश

लिमीमा सुविधासम्पन्न बर्थिङ सेन्टर स्थापना

१ कात्तिक, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं ६ लिमीका तीन गाउँमा सुविधासम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भएका छन् । ती गाउँका १८० घरधुरीलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ बर्थिङ्ग सेन्टर निर्माण भएर सञ्चालनमा आएका छन् ।

गर्भवतीलाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन बर्थिङ सेन्टरसहित सामुदायिक स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भएको छ । बर्थिङ्ग सेन्टरको स्थापनाले सो समस्याबाट लिमीका महिलाले मुक्ति पाउने भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । तामाङले भने, “बर्थिङ सेन्टर निर्माण भएर सञ्चालनमा आएपछि अब लिमीका महिला सहज रुपमा सुत्केरी हुन थालेका छन् । यसअघि लिमीका महिला घरमै परम्परागत सँुढेनीबाट सुत्केरी हुने गर्थे । व्यथाले निकै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौंँ लग्ने गरिन्थ्यो । ”

स्नोल्याण्ड एकीकृत विकास केन्द्र, गाउँपालिका, छाया नेपाल र स्थानीय जनताको जनसहभागितामा रु ७१ लाख पचास हजार लागत साझेदारीमा निर्माण भई सेन्टर सञ्चालनमा आएको केन्द्रका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिए ।
बर्थिङ्ग सेन्टरमा तातोपानीका लागि सौर्य शक्ति पनि जडान गरिएको छ । यसबाट सुत्केरी तथा शिशुले तातोपानीबाट नुहाउन पाउँछन् । भवनमै शौचालय पनि निर्माण गरिएको छ । गर्भवतीको गर्भ जाँच गर्नका लागि अल्ट्रा साउण्ड मेशिन जडान गरिएको छ । भवनमा बर्थिङ्ग सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायिक स्वास्थ्य संस्थाका लागि पनि कोठा निर्माण गरिएको छ ।