साहित्य

जीवन कथा

-प्रदीप ढकाल                                                      -कविता

जीवन उपन्यास जस्तो लाग्दथ्यो
तर यो त कथैकथाको सँगालो पो रहेछ……..

आफ्नो कथा अर्कोलाई व्यक्त नगरीकन
रहस्यै रहस्यको पोका बनाएर
सुरक्षित राख्नु पर्ने
अनि एकान्तमा बसेर
आफ्नै मुटु साक्षी राखी
पोका खोल्नुपर्ने
बडा अचम्मको व्यथा पो रहेछ जीवन त….

हरेक पल अरुसँगैको नयाँ कथामा समाहित भएर
केही पलका लागि भएपनि
जीवन जिएको अनुभूति लिनुपर्ने
अनि आफ्नै जीवनबाट केही पल चोरेर
बाँच्नु पर्ने जीवन त…..

अनन्तबाट आएको जीवन
शून्यमा बिलिन हुने जीवन
आरम्भ कहाँ अनि अन्त्य कहाँ
टुंगो नभएको जीवन
कहिले नाच्दै, कहिले गाउँदै
उमंगित पनि हुने रहेछ जीवन त …….

कथा पनि कस्ता कस्ता त –
बेसहारालाई सहारा दियो
असक्तलाई लट्ठी दिएर हिँड्न सिकायो
तर
कुनै दिन त्यही लट्ठी आफैँमाथि बज्रिने
दुष्ट अनि कृतघ्न मानवलाई हेरेर टोलाउँदै
आफ्नै उदारमनलाई आफैँले धिक्कार्दै बस्नुपर्ने
व्यथा पो रहेछ जीवन त……

सम्बन्धहरू त सुखद पो हुनुपर्ने–
झट्कारेरै फालौँजस्तो
नून र खरानी लगाएर सोत्तरले सोहोरेर फाल्ने जुकाजस्तो
फुकाउनै गा¥होगरी जेलिएको मानव सम्बन्ध…
अनि तिनै सम्बन्धहरू व्यवस्थापन गर्दागर्दै
जीवनको रंगलाई बेरंगको व्यथा बनाउनुपर्ने
बाध्यतामा डोरिइरहने रहेछ जीवन त….

म पनि एउटा जीवन चाहन्छु
पीपलको छहारीमनि लम्पसार पर्दै
शान्तिपूर्वक निदाउन चाहन्छु –
जहाँ सुख र दुःख व्यक्त गर्न सकुँ
कुनै डर र त्रासबिना सुत्न सकुँ
आफ्नो जीवनकथाको पोको खोलेर निदाउन सकुँ…

कथाहरू पत्रपत्र बन्दै
समग्र जीवन बनिरहेको छ
जीवन लहर – जीवन यात्रा
एउटै मात्र मिठो र सुन्दर कथा बन्नुपर्दथ्यो
तर धेरै कथाहरूको सँगालो पो बन्यो जीवन त…….

अनि रातको चन्द्रमाका अगाडि
कथैकथाका चाङ्हरूमा लम्पसार पल्टिएर
छरपस्ट बनेर बगिरहेछ जीवन त…..