खेलकुद

आईपीएल टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपरको तेस्रो जित

एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।

चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए । जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो । जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।