उर्जा

इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली

भरतपुर, २७ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गरेका छन् । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् ।

गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताए । विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उनले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताए ।

“म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डीभन्ज्याङमा बिजुली पुगेको थिएन”, उनले भने, “अहिले केही गाउँबाहेक सबै ठाउँमा बिजुली बल्छ ।” उनले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताए ।इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले वषौँंदेखिको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुशी भएको बताउँदै गाउँमा थप आयआर्जनको बाटो खुलेको बताएका छन् ।

सबैको पहल, प्रयास र हातेमालोले गाउँमा ढिलै भए पनि बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएको उनले बताए । उनले आधामारा, तीनबाङ र बारसीभन्ज्याङमा बिजुली बत्ती बलिसकेको जानकारी दिएका छन् । अझै चार गाउँमा बत्ती बल्न बाँकी रहेको उनले बताए ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बिजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफूहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए । सो ठाउँमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको उनले जानकारी दिएका छन् ।

उनले इच्छाकामनाका सबै वडामा विद्युत् पुगेको भन्दै बाँकी गाउँमा क्रमशः काम गरिने बताए ।सो ठाउँमा बिजुली बाल्नका लागि २०७६/७७ मा बोलपत्र भएर काम अघि बढेको थियो । इच्छाकामना गाउँपालिकामा विद्युतीकरणका लागि केन्द्रीय सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।