कृषि

‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’

२५ असोज, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताएका छन् । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उनले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाए । चालिसौँ विश्व खाद्य दिवसको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज राजधानीमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उनले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गरे । किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने उनको धारणा थियो ।
“उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ”, मन्त्री भुसालले भने, “कृषिले जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ, यसले कृषि पेशा सुनिश्चित हुँदैन ।” खाद्य दिवस मनाइरहँदा विश्वका धेरै मानिसहरू किन खाद्य सङ्कटको वरिपरी रहेका छन् भन्ने कुरा विर्सन नहुने मन्त्री भुसालको भनाइ थियो । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ ।

“कृृषिमा ३० वर्षसम्म विदेशीको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो, कतै राम्रो पनि भएको छ तर धेरै जसो राम्रो भएको छैन”, मन्त्री भुषालले भने ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिनुपर्ने बताए । कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने उनले बताए ।

खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए । उनले खाद्य सुरक्षाका लागि रासायनिक मल, विषादीलाई नियन्त्रण जरुरी रहेको बताए । उनले कोरोनाका कारण प्रभावित भए पनि कृषि विकासका लागि यसलाई अवसरको रुपमा पनि लिनुपर्ने बताए ।

सप्ताहव्यापी रूपमा मनाइने ४०औँ विश्व खाद्य दिवस कार्यक्रम आजबाट विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । यस वर्षको नारा ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ । दिवस विभिन्न कार्यक्रम गरी यही ३० गतेसम्म मनाइने छ ।