उर्जा

आज काठमाडौं उपत्यका सहित विभिन्न ६ जिल्लामा बत्ति जाँदैः कहाँ-कहाँ कटौति हुँदैछ ?

२४ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यका सहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । विद्युत लाइन सुधार, सडकमा परहेको लाइन स्थानान्तरण तथा विद्युत लाइनसँग जोडिएका रुखका हाँगा कटान लगायत काम गर्न प्राधिकरणले उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)सहित काभ्रे, सुनसरी र धनकुटाका विभिन्न क्षेत्रमा विद्युत कटौती गरिने जानकारी दिएको छ ।

प्राधिकरणले सुनसरीको इटहरी तथा धरान क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि नै विद्युत कटौती हुने जानकारी दिएको छ । इटहरी–धरान क्षेत्रमा दिउँसो ३ बजे पछि मात्रै विद्युत उपलब्ध हुने छ । प्राधिकरणका अनुसार धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ । काभ्रेका विभिन्न क्षेत्रमा भने बिहान ९ बजेपछि मात्रै विद्युत कटौती हुने छ ।

यस्तै, काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गतका १५ ठाउँमा बिहान १० बजेदेखि विद्युत कटौती गरिने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले शनिबार काठमाडौं उपत्यकाका मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास, आलपोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नाग्लेभिर र जहरसिंहपौवा लगायत क्षेत्रमा विद्युत कटौती हुने जनाएको छ ।

काठमाडौं उपत्यकाका यी ठाउँमा बिहान १० बजे विद्युत कटौती हुने र अपराह्न ४ बजेपछि मात्रै सुचारु हुने प्राधिकरणले जानकारी दिएको छ ।