आर्थिक

नेकपाका दुई अध्यक्षबीच भेटवार्ताः संवैधानिक/राजनीतिक नियुक्ति लगाएत विषयमा छलफल

२२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन ।

रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए । गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो ।