साहित्य

पाँच दशकपछि अमरकोशःको दोस्रो संस्करण

काठमाडौँ, २२ असोज । नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो । सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहेका ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिएका छन् । उनले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताएका छन् ।

जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य रु ७८० छ । प्रतिष्ठानले आफ्ना कृतिहरु सातै प्रदेशमा बिक्रीवितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ ।