प्रदेश 1

बिराटनगर र सुनसरीमा गरी दुई कोरोना संक्रमितको गयो ज्यान

२२ असोज, काठमाडौं । कारोना संक्रमणका कारण मोरङको बिराटनगर र सुनसरीको धरानमा दुुई जनाको ज्यान गएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । उनका अनुसार वृद्धलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उनी आफ्नै घरमै बसिरहेका थिए ।

यस्तै सोमबार बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार उनको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् ।