साहित्य

साहित्यकार तेराखको कथा सङ्ग्रहको लोकार्पण

१७ असोज, झापा । वरिष्ठ साहित्यकार तेजराज खतिवडा (तेराख) को कथाकृति ‘मे को प्रेम’को आज लोकार्पण भएको छ । धुलाबारीमा भद्रपुरको डाइनामिक ग्रुपद्वारा आयोजित कार्यक्रममा नारी केन्द्रित पात्रहरुलाई समेटेर प्रकाशित भएको कथासङ्ग्रहको समीक्षा प्राध्यापक लक्ष्मी पौडेलले गर्नुभएको थियो । सर्वजा उपन्यासलगायत राष्ट्रियस्तरका कृतिको रचनाकार तेराखको यो २०औँ कृति हो । कृतिमा नौवटा कथा समेटिएका छन् । कथामा प्रयोग भएको शैली नयाँ भएको उल्लेख गर्दै तेराखका कृतिहरु अन्तर्राष्ट्रियस्तरको भएको समीक्षक पौडेलले बताए ।

डाइनामिक ग्रुपकी अध्यक्ष खगिन्द्रा खुशीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार भुवन सुब्बा खरेल, कथाकार पुण्य खरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकार तेराख प्रगतिशील फाँटको सशक्त स्रष्टा भएको बताए । नमूना निरौला, लक्ष्मी अच्युत ढुङ्गाना, पवित्रा ओली र देवीचरण भण्डारीले कविता तथा गीत सुनाएका थिए ।