पु.समाचार

अमेरिकी राजदुतमा डा खतिवडा र बेलायती राजदुतमा रेग्मी सिफरिस

१५ असोज, काठमाडौं । सरकारले आज अमेरिकी र बेलायती राजदुतका लागि दुई जनाको नाम सिफरिस गरेको छ । पुर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकी राजदुत र बेलाएतका लागि मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीको नाम सिफारीस गरेको हो ।

आज बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका डा खतिवडालाई अमेरिकाका लागि नेपाली राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामाफर्त पुनः सांसद बनाउँदै खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए ।

नेकपाको सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा बहुमत पुगेपछि ओलीले खतिवडालाई विषेश आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने रिक्त एक राष्ट्रियसभा सदस्यमा खतिवडालाई नै पुनः नियुक्त गर्न नेकपाभित्र सहमति नदेखिएपछि उनलाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकार बनाएका थिए ।

यस्तै राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ । मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।