विचार/ब्लग

आमाको उपचारका लागि पैसा कमाउन बिदेशीएको रमेशको मृत्युदण्ड आज !

शोभा रावत/एक सामान्य घर परिवारमा जन्मेको रमेश । खासै ठुलो सपना पनि राख्दैन थियो । राख्थ्यो त बस एक छाक खाना एक सरो नाना अनि घाम, छायाँ, हावा, हुरी छेक्ने एउटा सानो प्यारो घर । बालापन देखी नै निकै संघर्ष गर्दै साह्रै दुःखमा हुर्किएको रमेश दुःखलाई राम्रोसंग बुझेको थियो । रमेश न त कुनै सरकारी जागिरे, न लाहुरेको छोरो हो, न ब्यापारी, उ त एउटा सामान्य किसानको छोरो मात्र हो ।
आफ्नो बाउ–बाजेको आस गर्ने खासै ठाउँपनि त थिएन, उसको बुवाको । आफ्नै बल बुताले एउटा सानो झुपडी र दुई छाक अन्न उब्जाउनलाई बारी, तैपनि बर्षभरिलाई नपुग्ने अन्न उत्पादन हुने सानो सुख्खा डाँडो थियो । तै पनि उसको परिवार दुःख–सुख गरेर भएपनि सुखि नभएपनि खुसि थियो ।
अरुको अधियाँ लगाएरै भएपनि आफ्नो परिवार बालबच्चा पाल्नु र छोरा छोरीलाई राम्रो शिक्षा–दिक्षा दिने, रोगी श्रीतीलाई औषधि मुलो गर्नु नै उसको बाबुको जिवनको एउटै बाध्यता थियो । यति मात्रै होईन रोगि श्रीमतिको औषधि मुलोका लागि लिएको ऋणले झनै गाँजेको थियो ।
एकातिर बालबच्चाको भविस्य बनाउनु थियो भने अर्काे तर्फ प्रेसर, थाईराईड जस्ता अनेक रोगबाट ग्रसित श्रीमतीको उपचार मुलो गर्नु थियो । वर्ष भरी अरुको खेतमा धान रोपेर त्यस्को आधा घरमा हाल्न पाउनु त्यहि धानले औषधि, पढाई खर्च घर खर्च धान्न निकै हम्य–हम्य हुने गर्दथ्यो रमेशका बाबुलाई ।
चाहेर पनि सबै कुरा पुर्याउन निकै गाह्रो हुने गर्दथ्यो, उस्को बाबुलाई र सानै उमेरको भएपनि बाबुको त्यो बाध्यता, पीडा, दुःख राम्ररी देखेको र बुझको थियो रमेशले । र सानैदेखी घरबारिको काममा बुवालाई सघाउने गर्दथ्यो ।
कामलाई सानो ठुलो नमान्ने र जाँगरिलो आँटिलो स्वभावको उ जिवनमा आईपर्ने जस्तो सुकै समस्यासंग पनि डटेर लड्न सक्ने सार्मथ्य राख्दथ्यो । त्यो हंसिलो चेहरा, अनेकन सपनाले भरिएका ति उस्का ठुला–ठुला आँखा जो कोहिलाई मोहित बनाउँदथ्यो ।
आफ्नो बाबुले जिवनमा भोगेका सबै पिडा सानैदेखी आफ्नै आँखा अगाडी देख्दै रमेश अभावै–अभावकाबीच हुर्किएको थियो । र जनतन गरेर भएपनि गाउँघरमा भन्ने गरिन्छ नि आँखा देख्न सक्ने भएको थियो । अर्थात १२ कक्षा सम्म पढ्न सक्यो । बिहानै उठेर कलेज जानु कलेजवाट आएर घरमा बुवालाई काममा सघाउनु ज्याला मजदुरी भेटाए उता पनि भ्याउने उ मानौं बुह प्रतिधा र निमै मेहनती लगनशिल र जाँगरिलो पनि थियो ।
विस्तारै बाबुको त्यो पिडा र आमाको मुटु दुखेर होस या टाउको दुखेर रातभर रोएर बिताएका दिनहरुले उस्को मन बेला बेला चस्कन्थ्यो तर के गरोस पनि भर्खरै १२ पढेको केटाले के नै गर्न सक्थ्यो र । तै पनि घर परिवारको समस्या बाबुको त्यो अभावपन, आमाको त्यो पीडाका कारण पैसा नै सबथोक ठान्न थालेको थियो । पैसा कमाउनु पर्छ बाबुलाई सहययोग गर्नुपर्छ, आमालाई एउटा राम्रो अस्पतालमा लगि उपचार गराउनु पर्छ भन्ने जिम्मेवारीबोध गर्ने उ तर आर्थिक अभावका कारण लाचार थियो ।
यति हुँदा–हँुदैपनि रमेश कलेज विदा हुँदा विभिन्न ज्याला मजदुरी, ट्याक्टरमा लेबर देखी हरेक काम गर्ने गरेर भएपनि केही रकम घरमा ल्याउने गर्दथ्यो र भन्दथ्यो, बुवा यो त सुरुवात मात्रै हो मलाई विदेश पठाउनु तपाईलाई कहिलै दुःख दिँन्न र मम्मीलाई औंषधि गर्छु । तर रमेशका बुवा भने आफुले दुःख गरेर भएपनि स्वदेशमा नै छोराले धेरै पढोस र ठुलो मान्छे बनोस भन्ने चाहन्थे । र सम्झाउने गर्दथे बाबु तेरो अझै पैसा कमाउने बेला भएको छैन, बरु तैले त धेरै पढ्नु छ आज मैले नपढेको हुँदा कति दुःख छ तर तेरो जिवन मेरो भन्दा फरक हुनुपर्दछ ।
घरपरिवारदेखी गाउँघरसम्म सबैको प्यारो सबैको मायाले हुर्केको रमेश निकै मायालु र दयालु स्वभावको पनि उत्तिकै थियो । पढाईमा पनि निकै अब्बल, विद्यालयमा पनि उत्तिकै सर म्याडमको प्यारो छात्र उ । विद्यालयका शिक्षक, शिक्षीका देखी बुवाआमालाई उबाट धेरै आशा पनि गर्देथे ।
कसैको दिल नदुखाउने सबैलाईै आदर गर्ने सबैलाई मायाँ गर्ने सबैलाई ईज्जत दिने बानिले गर्दा हुनुपर्छ कसैको आँखामा पनि बिझाउन सकेको थिएन । सायद उसको त्यो मासुम चेहरा, त्यो लगनसिल स्वभाव, मन नपर्ने कमै थिए होला । आमा माबाबुको त झनै आँखाको तारा थियो उ र बुढेसकालको साहारा पनि । चन्चले स्वभावको रमाईलो गर्ने सबैलाई हँसाउने स्वभावको भएपनि निकै जिम्मेवारी भएर होला बुवाको भविस्यमा आश गर्ने आधार पनि थियो ।
गाउँमा उ एक आदर्श, व्यवाहरिक, मायाँलु, दयालु छोरा र भाई थियो । न होस पनि कसरी उ गैरजिम्मेवार कहिलै बनेन । हरेक सम्बन्ध निभाउन जानेको र सबैको मन जित्न के गर्नुपर्छ सायद सबैले उसबाट सिक्दथे । उ गाउँमा उदाहरणको पात्र पनि बनेको थियो ।
उसको आँखामा सजिलै देख्न सकिन्थ्यो जिवनमा कति आशा, सपनाहरु छन् । उ आफ्नो बाबुभन्दा केहि फरक बन्न चाहन्थ्यो । सायद सानैदेखि अभावमा हुर्किएर होकि पैसा कमाउनु नै उसले आफ्नो जिवनको पहिलो काम ठानेको थियो । जसो तसो १२ कलास पढेको उ पढाईलाई अगाडी बढाउन नभई धेरै पैसा कमाउन र आफ्ना रहर आवस्यकता पुरा गर्नमा उद्दत रह्यो । तर परदेशको ठाउँमा त्यो पनि भखरै बैंस चढ्दै गएको उ रमाउने खाने डुल्ने साथि भाईसंग रमाउन छाडेर आमा बाबुको त्यो न्यानो काम मायाँ स्नेहदेखी सात समुन्द्रपारी जान चाहन्थ्यो, तर रहरले होईन वाध्यताले …….
रमेशले आफुले पढ्न नपाएपनि आफ्नी बहिनीलाई पढाएर अगाडी बढाउन चाहन्थ्यो । यहि सपना देख्दै उ कलिलै उमेरमा खाडि छिर्याे । घरमा आमा बुवादेखी सबैलाई रुवाउँलदै उ मुग्लान छिर्याे । आँखामा अनेकन सपना, आशा बोकेर आखिर उ पनि अरु दाजुभाई जस्तै परदेशीयो ।
तर अर्काको देशमा पहिलोपल्ट काम गर्न जानलागेको उ भोलि त्यहाँ आईपर्ने अनेक समस्याबाट भने बिल्कुलै अनविज्ञ थियो । दुनियाँलाई राम्रो आँखाले हेर्ने उ मालिकलाई रिझाएर राम्रोसंग काम गरि मनग्गे पैसा कमाउने आशामा परदेशीएको थियो । र सुरु–सुरुमा त उस्ले सोचेको जस्तै भयो, मासिक ४०–४५ हजार तलव पाउने गर्दथ्यो ।
आफ्नो काम गरिआएको पैसा जम्मा गरि साथिहरुसंग मिलेर घर पठाउन थाल्यो । परदेशको ठाउँमा गएर पनि उस्ले आफुजस्तै राम्रो मिल्ने साथि बनाई सकेको थियो । सायद उनिहरु वस्ने क्वाटरमा उमेरले पनि सबैभन्दा सानो उ नै थियो । जहाँ रमेशले एउटा परिवारको जस्तै माया पाएको थियो । घरमा फोन गर्दा भन्ने गर्दथ्यो, मम्मी म खुसि छु कमाई पनि राम्रो छ यहाँ सबैले मायाँ गर्नुहुन्छ । दुई बर्षसम्म राम्रो कमाई भएपछि उ अझै बस्ने निधो गर्याे । परदेशमा सुखःदुख जे भएपनि बाबु आमालाई केहि सुखको सास फेर्ने बतावरण बनाएको थियो ।
तर भनिन्छ नि कुनैपनि खुसि धेरैबेर टिक्दैन, हो त्यस्तै उस्को त्यो खुसि पनि लामो समय टिक्न सकेन । पहिले गर्दै आएको कामबाट अन्यत्र लगियो र कामपनि गाह्रो अनि तलब पनि थोरै पाएको भन्दै आमा बाुवालाई सुनाउने गर्दथ्यो पहिलेजस्तो खुसी पनि थिएन उ । जसो तसो थोरै तलव भएपनि अप्ठेरोे कामलाई घरको स्थिती सम्झेर र आफ्नो भाग्यलाई गाली गर्दै अगाडी बढ्यो ।
घरमा उस्को कमाईले केहि राहत मिलेपनि अवस्था अझै सुध्रिएको भने थिएन दुई बर्षसम्म पनि घरको ऋण नै तिर्न सकिएको थिएन । आमा बिरामी हुँदा धेरै ऋिण लागेको थियो । त्यसकारण पनि उ तत्काल नेपाल फर्कन चाँहदैनथ्यो । जसोतसो आफ्नो कामलाई निरन्तरता दिँदै, गएको रमेशको जिवनमा एकदिन नसोचेको घटना घट्यो ।
एकदिन काम गरिरहेको ठाउँमा मालिक आएर भन्यो कम्पनीमा चोरी भयो भनेर । र चोरीमा संलग्नको नाम लिदै–जाँदा जव त्यो नाममा आफुलाई नसोचेको उ आफ्नो नाम पनि सुन्यो, उ छाँगाबाट खसेको जस्तै भयो । आफु निर्दाेश हैन भनेर सफाई दिँदै हातपाउ जोड्दा पनि केहि नलागेपछि उ सहित अन्य ५ जना कर्मचारी चोर ठहरीए । सबैले रोई कराई गरे हातपाउ जोडे तर आफुलाई निर्दाेश सावित गर्न उनिहरु असक्षम भए । त्यसमध्ये एक रमेश पनि थियो ।
आफुमाथि यतिठुलो आरोप आईलागेपछि रमेशले आमा बुवा बहिनीको तस्विर यकपल्ट नियाल्यो र भकानिएर रोयो तर आफ्नो पीँडा पोखेर त्यहा सुनिदिने कोहि थिएन उस्को । अन्त्यमा चोरको आरोप लागेका रमेश सहित पाँचै जनालाई एकै छिनमा म्यानेजरले पुलिस बोलाई जिम्मा लगायो । उनीहरुलाई सफाई दिने कुनै मौका नै दिईएन । उनीहरुलाई ठुलै अपराधि जस्तो व्यवहार गरियो जसरी उस्ले कसैको हत्या नै गरेको होस् । एक अपराधिको व्यवहार सहनु सिवाय उस्ले केहि गर्ने अवस्था पनि त थिएन । अर्काको मुलुकमा आफ्नो केहि लागेन । हिजोसम्म मालिकका लागि सबैभन्दा ईमान्दार कामदार आज चोर भयो । आज नखाएको विष लाग्यो उस्लाई । अर्काको देशमा चोर भनेर चिनियो ।
निर्दाेस उस्लाई चोरी गरेको भन्दै आज रमेश सहित पाँचै जनालाई मृत्यु दण्डको सजाय सुनाईयो । र मर्ने मिति कुरेरै खाडि मुलुकको जेलको एक चिसो कुनामा बसेर मर्ने दिन गनेर बसेको छ उ । उस्ले घरमा केहि समय अघि मम्मी हामीलाई चोरीको आरोप लागेको छ पुलिसले लाँदै छ खोई के हुने हो भनेर फोन गरेको छोरोको विगत १ महिनादेखी कुनै फोन कल आएन ।
बुढो बुवा र रोगी आमा छोराको एक फोनकलको आशामा दिनहरु कटाईरहेका छन् । आमाको औषधि गर्ने बाबुको कांधको बोझ कम गर्ने र बहिनीलाई डाक्टर बनाउने सपना बोकेर बिदेशीएको उ आज आफ्ना लागि समेत केहि गर्न सकेको छैन ।
आफ्नो ज्यान बचाएर सकुशल नेपाल फकर्न सकेन । उसैको आँखा अगाडी आज उसको खुशी, आशा, सपना जलिरहेको छ । र त्यहि सपना संगै उ पनि, बाँचेर घर आउने कुनै आशा छैन । जेलको त्यो चिसो कुनामा उसका आशा, सपना सबै विस्तारै चिसिंदै गएका थिए र यो संसार छाड्ने दिनपनि नजिकिदै थिए । मृत्यु दण्ड दिने समय नजिकिँदै थिए । र आज अन्तिम दिन उस्लाई फाँसि हुँदै छ, उसको अगाडी संसार अँधेरो हुन्दै गएको छ । उसको आँखामा अँधेरो छाएको छ । मर्नुअघि नै उ आँफैमा मरिसकेको थियो । बस उसको त्यो जिँउदो लासबाट एउटा डोरीले उसको सास खोस्दै थियो यति मात्रै फरक हो । र आजबाट रमेश यो दुनियाँदेखी धेरै टाढा त्यो पनि आफ्ना बाबु–आमालाई बाई नभनी गयो । कति निष्ठुरी रहिछ अन्तीममा जाँदा पनि आमा–बाबुलाई बाई सम्म भनेन । र कति अभागी ति आमा बाबुुले जसले मेरो छोरा भनेर एकमुठि पानि समेत दिन पाएनन् ।
यो एक पात्रको जिवनको कहानी मात्रै होईन । रमेश जस्ता हजारौं नेपाली दाजुभाईको एक वास्तविक जिवनी पनि हो । घरको अवस्था नाजुक, पढेर लेखेर पनि नेपालमा जागीर नपाउने, पाएपनि त्यो जागीरले खान लाउननै नपुग्ने तलवको जागीर केहि काम गर्ने कुनै माध्यम नभएपछिको बाध्यताको जिवन आज हाम्रो दाजु भाई दिदीबहिनीले जिई रहेका छन् ।
बाध्यताले परदेशीएका दाजुभाई दिदीबहिनी आज कति घरमा फर्केर आउन पाएका छैनन कति परेदेशका जेलहरमा मृत्युको मिति कुरेर बसेका छन् त कयौंले अनेकन दुखः कष्ठ सहेर रित्तै हात घर फर्किएका छन् । कमाएर ल्याएपनि घरपरिवार बिग्रिएका प्रशस्त घटना हाम्रो समाजमा छन् ।
तर भनिन्छ नि जुन जोगि आएनि कानै चिरेको भने झैं जुनसुकै सरकार बनेपनि बाध्यताले परदेशीने युवाको लर्काेलाई रोक्न सकेको छैन । नेपालमै केहि गर्छु खान्छु भन्नेहरुको लागि कुनै व्यवस्था छैन, वातावरण छैन । कृषि क्षेत्र, पर्यटन, उर्जा लगायतमा आधुनिक बैज्ञानिक उपाय अपनाउन सकेको छैन सरकारले । हरेक क्षेत्रमा पुरानै शैलि छ जो खान र लाउने हम्य हम्य संधै । बिदेशमा खुन पसिना बगाएर पठाएको रेमिटेयान्सले सरकारले आफ्नाका लागि नयाँ गाडी, सुरक्षा गार्ड लगायतमै वार्षिक करोडौं खर्च गर्छ । जनता जिवन चलाउनका लागि पनि बिदेशीन बाध्य छन् ।
आज विश्वभर फैलिएको कोरोना संक्रमणका कारण कयौं नेपालीले परदेशमा ज्यान गुमाए । संक्रमणका कारण उद्योग कलकारखाना बन्द भए, कामबाट निकालिए, कयौंदिन खाना नै खान नपाई एउटै कोठामा सयौंको संख्यामा कोचिएर बस्न बाध्य भए । तर सरकारले उनिहरुको व्यवस्थापनमा चासो नै दिएन ।
विदेशका अलपत्र नेपालीको उद्धारका लागि चौपतर्फि दवाब पछि चार्टर्ड उडान सुरु गरेको सरकारले केहि लाई मात्रै ल्यायो त्यो पनि स्वयंम् नागरिकले आँफै दोब्बर भाडा तिरेर । जसका कारण पैसा हुनेहरुमात्रै घर फर्किएपनि कयौं नेपालीहरु कतिदिनसम्म भोकैपेट बसे ।
पछिल्लो समय विभिन्न देशहरुमा हवाई उडान खुलेसंगै केहि सहज परिस्थीत बनेपछि नेपालीहरु स्वदेश र्फकिरहेका छन् । फेरी नेपाली युवाहरु विदेशीन थालेका छन् । आजभोली राहदानी बनाउने कार्यालयहरुमा भिड लागेको देख्न सकिन्छ । यतिमात्रै होईन कोरोना संक्रमण फैलिएपछि छिमेकीदेशबाद विभिन्न कष्ट सहेर मुलुक फर्केका युवाहरु फेरी केही सिप नलागेपछि कोरोना र आउँदै गरेको चाडपर्वको कुनै प्रवाह नगरी भारततिर फर्कन थालेका छन् ।
विदेशीनुलाई कतिपय नेपालीले सामान्य ठान्दछन् भने कतिपयले बाध्यता, जे भएपनि रमेशलाईं उदाहरण दिने हो भने बिदेशीनु हरेकका लागि राम्रो होईन सबैले स्वदेशमा नै बसेर जसोतसो खाएर जिवन चलाउने ईच्छा राख्नु उचित हुन्छ । कतिपय शिक्षित युवा आजकाल विदेबाट नेपालमा नै आएर काम गर्ने तर नेपालमा भएकाहरु नेपालमै बस्ने अभियान नै चलाउन थालेका छन् । देशमा नै बसौं, देशमा नै रमाऔं, देशलाई नै सिुन्दर बनाउने अभियानमा लागौं ।

(सत्यकथामा आधारित–रमेश काल्पनिक पात्र हुन् र उनलाई चोरी भनिएको भएपनि उनी एक महिलालाई हेरेको अभियोगमा विदेशस्थीत स्थानीय सरकारद्वारा दायर गरिएको मुद्धामा दोषी ठहराउँदै मृत्युदण्ड घोषणा गरिएका विदेशीएका नेपाली नागरिक हुन् । )