पु.समाचार

काउन्सिलको सेवालाई प्रभावकारी बनाइने

१४ असोज, काठमाडौ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यवाहक अध्यक्ष बुढाथोकीले आज दशबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

प्रतिवद्धतापत्रमा काउन्सिलले अबदेखि उपत्यकाबाहिर टाढाबाट आउने सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर प्रक्रिया पुगेको अवस्थामा सोही दिन वा २४ घण्टाभित्र काम फत्ते गर्ने भनिएको छ । बुढाथोकीले साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराएका छन् । उनले पदमा रहुञ्जेल कुनैपनि सञ्चारमाध्यमको सम्पादक र राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गरेका छन् ।

यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त भएका बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने बताएका छन् । उनले आमसञ्चारका नयाँ–नयाँ माध्यम र प्रविधिको व्यवस्थापनाका लागि नीतिगत पहल गर्ने बताएका छन् । उनले अनलाइनको नियमन र सुविधाको लागि श्रेणीकरण हुनुपर्ने उल्लेख गरेका छन् । त्यसैगरी काउन्सिलले गर्दै आएको पत्रपत्रिका वर्गीकरण सम्परीक्षणको काम अघि बढाउन पहल गर्ने बताएक छ । साथै उनले आफ्नो पारिश्रमिकको दश प्रतिशत रकम सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति/संस्थाको लागि उपलब्ध गराउने पनि बताएका छन् ।