कृषि

राम्रो आम्दानी हुन थालेपछि धान छाडेर कागतीतिर

१४ असोज, कावासोती । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने तिनको भनाइ छ ।

गत वर्षसम्मको धानखेतमा अहिले आफूले कागती लगाएको मध्यविन्दु नगरपालिका –१५, भिउरानकी सीता भट्टराईले बताए । ‘धानखेती गर्दा लाग्ने समय र मेहनतभन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि अहिले १२ कठ्ठा जग्गामा कागती खेती शुरु गरेको छु’ , भट्टराईले भने ।

कागती खेती शुरु गर्दा शुरुमा उनले एक लाख ५० हजार लगानी गरे । समयसमयमा गोडमेल र मल हालेपछि कागती खेतीमा खासै मेहनत गर्न नपर्ने र एक पटक लगानी गरेपछि पटकपटक धेरै लगानी गर्न नपर्ने हुँदा आम्दानी धेरै हुने उनले बताए।
कागती उत्पादनपछि बजारको अहिलेसम्म कुनै समस्या नभएको मध्यविन्दुका दुर्गा पाण्डेले बताए । ‘बजारको पनि अहिलेसम्म कुनै समस्या भएको छैन, व्यापारी बगैंँचामा आएरै लान्छन्’, पाण्डेले भने, ‘स्थानीय बजारमा समेत बिक्री हुन्छ ।’ नवलपुरको कावासोती, नारायणगढ, बुटवल, पोखरा,काठमाडौँ लगायत शहरमा उत्पादन भएका कागती निर्यात हुने गरेको पाण्डेले बताए।

मध्यविन्दु नगरपालिकासँगै नवलपुरका अन्य स्थानीय तहमा समेत अहिले किसान कागती खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगानी गरेपछि कम मेहनतमा व्यवस्थापन राम्रो गर्ने हो भने २० देखि ३० वर्षसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित हुन थालेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

जिल्लामा सुन्तला जात फलफूल जोन कार्यक्रमसमेत सञ्चालनमा छ । सो कार्यक्रमबाट मात्रै यस वर्ष १५ हजार कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । गत वर्ष पनि यही सङ्ख्याका हाराहारीमा कागतीको बिरुवा वितरण गरिएको प्रमुख शर्माले बताए । सो कार्यक्रममार्फत यहाँ बुलिङ्टार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट र मध्यविन्दुमा जोन कार्यक्रम सञ्चालित छ । यहाँ तल्लो भेगमा सुनकागती १, २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करीब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती हुने गरेको प्रमुख शर्माले बताए । एक बोटबाट मात्रै एक याममा रु पाँच हजारसम्म आम्दानी लिन सकिने जनाइएको छ ।