राजनीति

नेकपाका दुई अध्यक्षबीच आजको बैठक स्थगीतः मन्त्रिपरिषद् पुनर्गठनको विषय अन्यौल

१४ असोज, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा गत बिहिबारदेखि हुदै आएको नेकपाका दुई अध्यक्षबीच आजको बैठक स्थगीत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीचको आज हुने भनिएको भेटवार्ता स्थगित भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाका अनुसार आज खुमलटारमा बस्ने बैठकलाई अध्यक्ष दाहालले आजको वार्ता नबसौँ भनेर आग्रह गरेपछि स्थगित भएको हो । यस्तै बिहीबारदेखि निरन्तर जारी बैठकमा दुवै शिर्ष नेताहरुको आफ्नै अडान राख्दै आएका छन् । अपवादबाहेक सबै मन्त्री हेर्नुपर्ने अध्यक्ष दाहालले अडान लिएका छन् । तर, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु मात्रै हेरफेर गरेर अगाडि बढ्ने अडान लिइरहेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आआफ्नै अडानको कारणले मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिलाई हुने भएको छ । दुवै नेताले आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रिपरिषद् हेरफेरको एजेण्डा थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री ओलीले केही मन्त्रालय टुक्राएर मन्त्री थप्ने पक्षमा छन् । मन्त्रालय थपेर ओलीले २४ मन्त्रालय पुर्याउने पक्षमा छन् । तर, २४ मा अध्यक्ष दाहालले पूर्व माओवादीको तर्फबाट १० मन्त्रालय दाबी गरेका छन् ।

अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतमलाई पनि सरकारमा लाने चाहाना गरिरहेका छन् । तर, गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक अधिकार नदिन आदेश दिएको छ । आज गौतमको पेसी तोकिएका कारणले पनि ओली दाहाल भेटवार्ता स्थगित गरिएको हुनसक्ने आंकलन गरिएको छ ।