प्रदेश 1

विराटनगरको कोशी अस्पतालमा उपचाररत ६० वर्षे कोरोना संक्रमित बृद्धको मृत्यु

१४ असोज, काठमाडौं । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्धको आज (बुधबार) बिहान ४ बजेतिर मृत्यु भएको हो ।

उनका अनुसार कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएका पुरुषको तौल सबैभन्दा धेरै ११० किलो रहेको थियो। उनले अत्याधिक मोटोपनाका कारण मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या रहेको जानकारी दिएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताएका छन् ।  होम आइसोलेसनमा रहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि थप उपचारका लागि अस्पताल ल्याइएको खुलेको सिग्देलको भनाइ छ ।

असोज ६ गतेबाट भेन्टिलेटरमा उपचाररत संक्रमित पुरुषलाई बचाउन धेरै पटक सीटीआर गर्दै कृतिम श्वासप्रश्वास दिएर प्रयास गरिएपनि सम्भव नभएको उनले बताएका छन् । उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो ।

पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएको डा. सिग्देलले बताए । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जानकारी उनले दिएका छन् ।