पु.समाचार

ब्रोइलरका चल्लालाई मेहेन्दी लगाउँदा…….

१३ असोज, काठमाडौं । अबैध रुपमा भारतबाट ब्रोइलरका चल्ला भित्र्याएर बिक्री वितरण गर्ने व्यक्ति यसअघि पटकपटक पक्राउ परेका हुन् । यस्ता गतिविधिमा नेपाली व्यवसायी नै संलग्न रहने गरेको आरोप लाग्दै पनि आएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी हजारौँ चल्ला नष्ट पनि गरेको थियो । त्यसको निगरानीमा नेपाली कुखुरा व्यवसायी आफैँ खटिँदै आएका पनि छन् ।
ब्रोइलर चल्लालाई विभिन्न रङ (मेहेन्दी) लगाएर लोकल, कोइलर, गिरिराजका चल्ला भन्दै विक्री वितरण गरेको नौलो घटना फेला परेको छ । त्यस्तै नौलो घटना आज काठमाडौँमा भएको छ । चार जना भारतीय व्यक्तिले ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेपछि उक्त रहस्य खुलेको हो । आज महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह रहेका छन् । उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा विक्री गर्ने गरेको खुलेको छ । कम मूल्यका चल्लालाई रङ लगाएपछि प्रतिगोटा १५० सम्ममा विक्री गर्ने गरेको खुलेको छ ।
विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा कानुनी अनुसन्धान शुरु गरिएको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट यसरी रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला समेत बरामद गरेको छ । प्रहरीले प्रयोग गरिएका मेहन्दीका खोल र प्रयोग गर्न राखिएको मेहेन्दीका पोका समेत बरामद गरेको छ ।