समाचार

होटल सञ्चालकले ग्राहकलाई यसरी कुटेर मारे !

१३ असोज, काठमाडौं । होटल सञ्चालकले आफ्नो होटलमा आएका एक ग्रहकलाई कुट्दा मृत्यु भएको छ । मोरङको उर्लाबारीउर्लाबारी नगरपालिका–७ मा होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु हो ।

युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा होटलमा खाजा खान आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । संखुवासभा घर भएका तामाङ उर्लाबारी–७ मा होटल सञ्चालन गरेर बसेका थिए ।

उनले होटलमा आएका मल्लिकलाई आइतबार राती ११ः३० बजेतिर कुटपिट गरेर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाहिरैबाट मादक पदार्थ सेवन गरेर होटलमा श्रीमती कञ्चनसहित पुगेको अवस्थामा विवाद भएपछि तामाङले कुटपिट गर्दै धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएर ढलेका थिए ।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि तत्काल उर्लाबारीको गोदवारी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको थियो ।

सिलिगुडी पुर्याएर उपचार थालिएका मल्लिकको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले बताए । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि नेपालमै बसेर सुनका गहना बनाउने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले कुटपिटमा संलग्न होटल सञ्चालक तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीको छ ।