साहित्य

विवाद भएपछि यसबर्षको पद्यमश्री साधना सम्मान र पुरस्कार गरियो रद्ध

१३ असोज, काठमाडौं । अन्तिम समयमा आएर यस बर्षको पद्यमश्री साधना सम्मान र पुरस्कार रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान यस वर्ष नहुने भएको हो ।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको तर, यौन हिंसाको आरोप लागेका प्रश्रितसँग उभिएर एउटै मञ्चबाट पुरस्कार लिन आफूले नसक्ने उप्रेतीको भनाइपछि विवाद सिर्जना भएको थियो । त्यसपछि प्रश्रितले पनि विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका थिए ।

केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टा-छुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उनिहरुको इच्छालाई कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानको भनाई छ ।

साथै प्रतिष्ठानले यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुस्खी भएको तर आफसहरुको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि नभएको बताएको छ । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तकहरुको आत्म सम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठानले क्षमायाचना गरेको छ । साथै खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने विज्ञप्ति माफर्त जनाईएको छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं. २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको र त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।