राजनीति

कांग्रेसमा महिला भोटर मात्रै भएको धेरै भयो अब पदाधिकारी बन्नुपर्छः नेतृ डा देउवा

१३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस नेतृ डा. आरजु देउवाले कांग्रेसमा महिला भोटरमा मात्रै सिमित रहेको धेरै भएको भन्दै अब पदाधिकारी बन्नुपर्नेमा जोड दिएकी छिन् ।

आज नेपाल महिला संघले गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ भर्चुअल अन्तर्क्रिरयामा कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेककी नेतृ आरजुले पार्टीमा धेरै  महिला हुँदा–हुँदै सहमहामन्त्रीमा मात्रै सिमित पारीएको भन्दै सभापतीमा भिड्ने कम भएपनि पार्टीमा सभापतीका लागि भिड्न सक्ने क्षमताका महिला रहेको दाबी गरेकी छिन् ।

छलफलमा बोल्दै देउवाले पुरुष प्रधान समाजमा अझै पनि महिलालाई अघि बढ्न धेरै गाह्रो रहेको भन्दै महिलालाई अधिकार दिने पार्टी नेतृत्व नै १८ औं शताब्दीमै रहेकोले यसलाई रोक्नुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

उनले नेपालको संविधान र कांग्रेस पार्टी विधानमा पनि महिलाको बारेमा धेरै कुरा लेखिएको भए पनि व्यवहारिक कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरेकी छिन् । कांग्रेस पदाधिकारीमा एकजना मात्र महिला हुनु विडम्बनापूर्ण अवस्था रहेको उनको टिप्पणी छ ।

साथै कार्यक्रममा देउवासंगै अन्य नेतृले कांग्रेसको शिर्ष नेतृत्व तहमा महिलाहरुका लागि आरक्षण गर्नुपर्ने माग राखेका छन् । आरजु देउवाले पार्टीको कुन तहको कुन पदमा महिला हुनुपर्छ उल्लेख गरेर सभापती शेरबहादुर देउबालाई नेतृहरुले पत्राचार गर्नुपर्ने बताएकी छिन् ।

साथै नेतृ आरजुले क्षमता राख्ने महिलालाई अघि बढाउन पार्टी नेतृत्वलाई सुझाब दिँदै अब जुन पार्टीले महिलालाई अघि बढाउँछ सोही पार्टी अघि बढ्ने विश्लेषण गरेकी छिन् ।