खेलकुद

प्रिमियर लिगमा साविक विजेता लिभरपुलसंग आर्सनल पराजित

एजेन्सी । प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । आईतबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ । एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा पाहुना आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेट्टी लण्डन क्लबलाई अघि बढाएका थिए ।

त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए । रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जोटा ४५ मिलियन पाउण्डमा यसै सिजन उल्भ्सबाट लिभरपुल आएका हुन् । उनले घरेलु मैदानमा डेब्यु गरेको खेलमा गोल गर्न सफल रहे ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।