बाग्मती

गणेशमान उद्यानलाई शहीद सङ्ग्रहालयका रुपमा विकास गर्छौं

१२ असोज, काठमाडौं । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले शङ्खरापुरस्थित गणेशमान उद्यानलाई शहीद सङ्ग्रहालयका रुपमा विकास गरिने बताएका छन्। काठमाडौंको शङ्खरापुर नगरपालिकाका प्रमुख सुर्वण श्रेष्ठको नेतृत्वमा आएको टोलीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटघाटमा उहाँले शङ्खरापुर नगरपालिकाका–३ स्थित निर्माणाधीन सो उद्यानलाई शहीद स्मारक र सङ्ग्रहालयको रुपमा विकास गरिने बताएका हुन् ।
मन्त्री फुयाँलले पर्यटकको प्रमुख आकर्षक तथा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुका लागि अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा पनि यसलाई विकास गर्न सकिने बताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख श्रेष्ठले सो उद्यानमा राजनेताहरु विपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह, पुष्पलाललगायत ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका डा हर्क गुरुङलगायत विशेषज्ञको पनि सालिक स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।
उनका अनुसार सो उद्यान निर्माणका लागि वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु ५० लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु ३० लाख गरी कूल रु ८० लाख बजेट विनियोजन भएको छ । विनियोजित गरिएको पनि प्रमुख श्रेष्ठले जानकारी दिए । त्यस्तै सो उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ५० लाख तथा प्रदेश सरकारको पर्यटन विभागबाट रु ५० लाख गरी कूल रु एक करोड अनुदानस्वरुप प्राप्त भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।