राजनीति

बालिका बलात्कार/हत्या दुःखद, कडा कारबाही गर्न सरकारसँग काँग्रेसको माग

१२ असोज, काठमाडौं । नेपाली काँग्रेसले महिला हिंसा, बलात्कार र हत्याका बढ्दो घटना निरुपण एवं निराकरणका लागि गम्भीर बहस र गम्भीर पहलकदमीको अपील गरेको छ ।
पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई आग्रह गरेको छ ।
काँग्रेसले बितेको साता बालिकाहरु उपर शृङ्खलाबद्ध रुपमा हिंसा, बलात्कार र हत्याका घटना भएको विवरणले सिंगो मुलुकलाई मर्माहत तुल्याएको बताएको छ ।

काँग्रेस प्रवत्तक्रा बिश्वप्रकाश शर्माले बिज्ञप्ती जारी गर्दै असोज ७ गते बुधबार बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, असोज ८ गते बिहिवार उदयपुरको चौदण्डिगढीमा एक ७ बर्षिया बालिकाको बलात्कार, असोज ९ गते शुक्रबार सुनसरीको बराहक्षेत्रको कटहरेमा ११ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या जस्ता घटनाको दृष्टान्त दिएका छन् ।

प्रवक्ता शर्माले सार्वजनिक भएका यी प्रतिनिधिमूलक घटनाले समाजमा बढ्दो विसंगति र अपराधलाई एकातर्फ उजागर गरेका छन् भने अर्कातर्फ चेतना अभियानमा हाम्रा कमजोरी देखि कानूनको कार्यान्वयनमा फितलोपन सम्ममा प्रश्न खडा गरेको भनेका छन् । उनले बझाङको घटनामा डेढ महिना अघि मात्रै बलात्कारको अर्को घटनामा ‘मिलापत्र’ मार्फत ‘उन्मुक्ति’ पाएका युवकको संलग्नता रहेको विवरणले पछिल्लो घटना हुनुमा ब्यक्ति, प्रवृत्ति, समाज र सरकार समेत जिम्मेवार रहेकोे पुष्टि भएको बताएका छन् ।
शर्माले बिज्ञप्तीमा भनेका छन्, ‘बालिका बलात्कारको घटना होस् या महिला उपरका अन्य हिंसात्मक सन्दर्भहरुमा समाजको उच्च सतर्कता, गम्भीर बहस, राज्यको प्रभावकारी उपस्थिति र राजनैतिक दल एवं संघसंस्थाको ऐक्यवद्ध सचेतनाको अभियान टड्कारो ढंगले आवश्यक देखिएको छ । बिषयको गम्भीरताप्रति सम्पूर्ण रुपले गम्भीर बन्न नेपाली कांग्रेस सरकार, दलहरु र समुदायलाई विशेष अपील गर्दछ ।’