प्रदेश 1

झापा कारागारभित्रै आइसोलेसन

१२ असोज, झापा । कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए।

महिला कैदीबन्दीका लागि महिला कारागारको एउटा कोठालाई नै आइसोलेसन बनाइएको उनले बताए। हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी एक हजार १४३ कैदीबन्दी रहेका छन् । कैदीबन्दीसहित कारागारका १० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि कारागारभित्रै आइसोलेसन निर्माण गरिएको गौतमले बताए ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका कारण कारागारमा कोरोनाको सङ्क्रमण फैलिने त्रास छ । ज्वरो, श्वासप्रश्वास, रुघाखोकीजस्ता लक्षण देखिएका र दीर्घरोगी कैदीबन्दीलाई सोही आइसोलेसनमा आजैदेखि राखिने उनले बताए । जस्ता पाताको छानो भएको छतमा बनाइएको आइसोलेसनमा अलग्गै शौचालयको व्यवस्था समेत मिलाइएको छ । सामग्री अभावका कारण बिरामी बस्नका लागि खाटको सुविधा भने छैन ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले कारागारको आइसोलेसनका लागि १५ थान पीपीई सेट, पाँच लिटर सेनिटाइजर, १० थान बाल्टिन, एक थान हाते माइक, दुई कार्टुन साबुन र ५०० थान मास्क उपलब्ध गराएको शाखाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । यसैबीच, नेपाल बार एसोसिएसन झापा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै कैदीबन्दीलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।