स्वास्थ्य

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य

१२ असोज, काठमाडौँ । रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा नेपालमा सन् २०३० सम्ममा रेविज रोगको मृत्युदर शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

आज ‘रेविज अन्त्यको लागि सहकार्य र खोप पुरा गर्न सबै जना हातेमालो गरौँ’ भन्ने नाराका साथ रेविज दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । महाशाखाले दिवसको अवसरमा रेविजबाट बच्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । रेविज कुकुरको टोकाइबाट मानिसमा सर्ने रोग हो । एशिया महादेशमा रेविज रोगको कारणले प्रत्येक वर्ष करिव ३५ हजार मानिसको अकालमा मृत्यु हुने गरेको बताइएको छ । महाशाखाका निर्देशक डा पाण्डेका अनुसार रेविज रोगबाट आव २०७३/०७४ मा ८ , २०७४/०७५ मा ३२ र २०७५/०७६ मा १८ जनाले ज्यान गुमाएका थिए । रेविज रोग नियन्त्रणको लागि राष्ट्रिय मापदण्ड बनाई उच्च प्राथमिकता राखिएको उनले जानकारी दिए ।