समाचार

राजमार्ग विस्तारबारे मन्त्री अर्यालद्वारा जनप्रतिनिधिसँग छलफल

१२ असोज, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् । सो राजमार्ग विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालले जिल्लाका जनप्रतिनिधिसँग आज मन्त्रालयमा छलफल गरेका छन् ।

उचित जनगुनासा तथा राजमार्गका कारण जनताले पटकपटक बेहोर्नुपरेको क्षति सम्बोधन गर्नुपर्ने मन्त्री अर्यालले सो छलफलमा बताए । ‘‘ सिद्धार्थ राजमार्ग अत्यन्तै महत्वपूर्ण छ, यससँग विकासका कुराहरु जोडिएका छन्,’’ मन्त्री अर्यालले भने, ‘‘ सडक विस्तारका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पनि आइरहेका छन् । पटक–पटक जनता मर्कामा पर्ने कुरालाई पनि सम्बोधन गर्दै राजमार्गको विस्तार कार्य सम्पन्न गर्नुपर्छ । ’’

सडक विभागका महानिर्देशक केशव शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए । पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले सिद्धार्थ राजमार्गका जनताले सबैभन्दा छिटो समाधान खोजेको बताए।