पु.समाचार

बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

१२ असोज, सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले २०७३ भदौ २७ गते आरोपितहरुलाई जनही १० दिनको कैद र रु ५०० जरिवानाको फैसला गरेका थिए । फैसलापछि अभियुक्तहरु फरार थिए ।
आरोपितहरुले ०७३ साल वैशाख १८ गते घेरा हाली बलात्कार प्रयास गरेको भन्दै पीडितले प्रहरी चौकी पातोमा उजुरी दिएका थिए । प्रहरीले कारबाही अगाडि नबढाएपछि पीडितले जिल्ला अदालतमा वैशाख २८ गते आशय करणीको मुद्दा दर्ता गराएका थिए ।