आर्थिक

बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार

बागलुङ, १२ असोज । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन् ।

रोजगारीका सिलसिलामा जापानमा रहेका ६०० भन्दा बढी प्रवासी नेपालीबाट बाढी प्रभावितका लागि राहत रकम सङ्कलन गरिएको थियो । बाढी प्रभावितको पुनस्र्थापनामा सघाउन राहत अभियान चलाइएको समाजका अध्यक्ष दिलु खत्रीले बताए ।

“बाढी प्रभावितको घाउमा मलम लागोस् भनेर सहयोग जुटायौँ, तत्कालै राहतको अनुभूति हुने गरी काम होस्”, उनले भने । समाजले दिएको सहयोग रकम बाढीमा बास गुमाएका परिवारको घर निर्माणमा खर्च गरिने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताएका छन् । उनले समाजका तर्फबाट बाढी प्रभावित छ परिवारका लागि रु पाँच लाख बराबरको घर बनाइदिने प्रतिबद्धता जनाएका छन् ।

गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरेका छन् । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् । कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ । बाढी प्रभावितका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । हालसम्म राहत कोषमा रु एक करोडभन्दा बढी जम्मा भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।