पु.समाचार

बालुवाटारमा ओली/ दाहालबीच आजपनि भेटवार्ताः मन्त्रिपरिषद पुनर्गठनबारे छलफल जारी

१२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आजपनि छलफलमा जेटेका छन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बिहान ११ बजेदेखी बालुवाटारमा छलफल जारी छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको हो । गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ । आज सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो ।

प्रधानमन्त्री ओली श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानभक्त ढकाल र खेलकुदमन्त्री जगत विश्वकर्मा हटाउनु पर्ने पक्षमा छन् ।

तर, प्रचण्डले रक्षामन्त्री इश्वर पोखरेल, उद्योग मन्त्री लेखराज भट्ट, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा र भूमिमन्त्री पद्मा अर्याललाई हटाउनुपर्ने मत राखेका छन् ।

सोहीकारण मन्त्रिपरिषद पुनर्गठन हुन नसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । दुई अध्यक्षबीच ऊर्जा र उद्योग मन्त्रालय फुटाएर १० देखि १२ नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमति हुने आँकलन गरिएको छ ।