खेलकुद

राजस्थान रोयल्सको आईपीएल टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित

एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए ।

राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनी राजस्थानको जितमा मुख्य नायक बने । टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए ।

यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।

पन्जाबको यो दोस्रो हार हो । पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, पन्जाब दोस्रो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।