राजनीति

बालिका बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाही गर्न डा.संग्रौलाको माग

११ असोज, काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले बझाङमा बालिका बलात्कार र हत्यामा संलग्नलाई कडा कारबाहि गर्न सरकारसंग माग गरेकी छिन् । बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनिय भएको बताएकी छिन् ।

महिला संघको पसर्व अध्यक्ष समेत रहेकी डा संग्रौलाले  प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको भन्दै यस्तो जघन्य अपराधमा संलग्न जो कोहि भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेकी छिन् ।

डा संग्रौलाले गएका केही महिना यता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएको भन्दै रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटनाहरू भएको र निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै टिप्पणी गरेकी छिन् ।

देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएको उनको भनाई छ । नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको उनको भनाई छ ।

भ्रस्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको बताईन । यस पृष्ठभूमिमा उनले पुनः सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरुको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र दलितलगायत सबै समुदायको जीवन रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेकी छिन् ।